संकट तथा परीक्षा (#11181)

हे तिमी जसको परीक्षा तिम्रा भक्तहरूको लागि रोगनिवारण गर्ने औषधि हो, तिम्रो दरबार तिम्रा प्रेमीहरूको उत्कृष्ट अभिलाषा हो, तिम्रो वाणी तिम्रो दर्शन गर्न लालायित हुनेहरूको सबभन्दा प्रबल इच्छा हो र तिम्रो सत्यलाई स्वीकार्नेहरूको लागि तिम्रो आज्ञानै तिनको एकमात्र ध्यये हो ! तिम्रो दिव्य माधुर्य र तिम्रो गौरवशाली मुखमण्डलका प्रतापद्वारा म तिमीसित याचना गर्दछु कि आफ्नो वैकुण्ठलोकबाट यस्ता कुराहरूको वृष्टि गरिदेऊ, जसले हामीलाई तिम्रो नजिकमा आकर्षित गर्न सकोस् । अतः हे मेरा प्रभु ! हाम्रा गोडाहरूलाई तिम्रो धर्मको बाटोमा दह्रो बनाइदेऊ, तिम्रो ज्ञानको प्रकाशद्वारा हाम्रा हृदयहरूलाई प्रदीप्त गराऊ र तिम्रा नामहरूको ज्योतिद्वारा हाम्रा आत्माहरूलाई प्रज्ज्वलित गराइदेऊ ।

-Bahá'u'lláh
-----------------------

संकट तथा परीक्षा (#11180)

तिम्रो जय होस्, हे मेरा प्रभु ! तिम्रो मार्गमा दःुखकष्टहरू झेल्न नपर्ने भए तिम्रा साचाँप्रेमीहरूको परिचय कसरी हुन सक्थ्यो; र तिम्रो प्रेमको खातिर परीक्षाहरूको सामना गर्नु नपर्ने भए तिम्रो दर्शनको लागि लालायित हुनेहरूको विशिष्टता बुझ्न कसरी सकिन्थ्यो ? तिम्रो शक्ति मेरो साक्षी हो ! तिम्रा भक्तहरूले रोएका आँसु तिनका सहचर हुन्, तिमीलाई खोज्नेहरूका मुखबाट निस्केको पीडाको उच्छ्वास तिनको सान्त्वना हो र तिमीलाई भेट्नको लागि छटपटाउनेहरूका विह्वल हृदयका टुक्राहरू तिनको भोजन हो । 

तिम्रो मार्गमा आइपर्ने मृत्यु पनि मेरो लागि कति आनन्ददायी छ र तिम्रो वचनको स्तुति गर्दा सामना गरिने शत्रुहरूका प्रहार पनि मेरो लागि अनमोल छन् । हे मेरा प्रभु !
तिम्रो धर्ममा तिमीले मेरो लागि जुन कुराको चाहना गरेका छौ मलाई  तिनको पालन गर्नदेऊ र आफ्नो प्रेमको खातिर तिमी जे गराउन चाहन्छौ त्यसैको आज्ञा गर । तिम्रो गौरवको साक्षी ! म त्यही चाहन्छु, जो तिमी चाहन्छौ र तिम्रो आनन्द नै मेरो पनि आनन्द हो  । सधैँ तिमीमा नै मैले मेरो सम्पूर्ण आशा र भरोसा समर्पित गरेको छु । 

म तिमीसित प्रार्थना गर्दछु, हे मेरा प्रभु ! कि तिम्रो संज्ञा र तिम्रो प्रभुसत्ताको योग्य मानिसहरूलाई यस प्रकटीकरणको सहायताको लागि अघि बढाऊ ताकि तिनले तिम्रा प्राणीहरूबीच मेरो स्मरण गरून् र तिम्रो भूमिमा तिम्रो विजयको ध्वजा फर–फराउन सकून् । 

जे गर्न चाहन्छौ त्यो गर्न तिमी सामथ्र्य राख्दछौ । 

सङ्कटमोचक, आत्म–परिपूर्ण तिमीबाहेक अर्को ईश्वर छैन ।

-Bahá'u'lláh
-----------------------

संकट तथा परीक्षा (#11182)

हे ईश्वर ! मेरा ईश्वर ! आफ्नो दयालुपन र कृपाद्वारा मेरो शोकहरण गर र आफ्नो सत्ताद्वारा मेरा पीडा हटाइदेऊ । 

हे मेरा ईश्वर ! तिमी देखिरहेका छौ कि चारैतिर दुःखले घेरिएको बेला पनि म तिमीतिर उन्मुख भएको छु । हे तिमी, जो सबै प्राणीहरूका स्वामी हौ र दृश्य तथा अदृश्य वस्तुहरू सबैमा व्याप्त छौ, मानिसहरूका हृदय र आत्मालाई वशमा राख्ने तिम्रो नाम र तिम्रो दयाको महासागरमा उर्लिरहेका छालहरू तथा कृपाका दिवासूर्यका प्रतापहरूद्वारा म तिमीसित प्रार्थना गर्दछु कि तिनीहरूमध्ये मेरो गणना गराऊ जसलाई कुनै पनि वस्तुले तिमीबाट विमुख गराउन सकेको छैन, हे तिमी, सारा नामहरूका मालिक र स्वर्गहरूका निर्माता । 

हे मेरा स्वामी ! तिम्रा दिनहरूमा ममाथि जे बितेका छन् ती सबैलाई तिमीले देखिरहेका छौ । जो तिम्रा नामहरूका दिवास्रोत र तिम्रा सद्गुणहरूको उदयस्थल हुनुहुन्छ उनको नाम लिएर म तिमीसित विन्ती गर्दछु कि मेरो लागि त्यस्तो आज्ञा गर ताकि म तिम्रो सेवा गर्न र गुणगान गर्न योग्य बन्न सकूँ । निःसन्दहे, तिमी सर्व–शक्तिशाली र सर्वोपरि छौ, जो सबै मानिसका प्रार्थनाहरूलाई ग्रहण गर्दछौ । 

अन्त्यमा, तिम्रो मुखमण्डलको प्रकाशद्वारा म तिमीसित प्रार्थना गर्दछु कि मेरा गतिविधिहरूलाई आशीर्वाद देऊ, मेरा ऋणहरूलाई मोचन गर र मेरा आवश्यकताहरू पूरा गरिदेऊ । तिमी उही हौ, जसको शक्ति र शासनलाई प्रत्येक वाणीले प्रमाणित गरेको छ, जसको वैभव र प्रभुत्वलाई प्रत्येक विवेकी हृदयले स्वीकारेको छ । सबैको प्रार्थना सुन्ने र ग्रहण गर्ने तिम्रो अतिरिक्त अर्को ईश्वर छैन ।

-Bahá'u'lláh
-----------------------

संकट तथा परीक्षा (#11183)

तिमी प्रशंसित र गौरवान्वित छौ, हे मेरा ईश्वर ! तिम्रा प्रेमीहरूको सुस्केरा र तिम्रो दर्शनगर्र्न नपाउनेहरूको आँसुद्वारा म तिमीसित याचना गर्दछु कि तिम्रो दिनमा करुणार्द्र अनुकम्पाहरूबाट मलाई वञ्चित नगराऊ जसले तिम्रो मुखमण्डलमा चम्किरहेको प्रकाशसमक्ष तिम्रो एकताको महिमा गाइरहेको छ । हे ईश्वर ! म दुःखकष्टद्वारा ग्रसित छु, सबैलाई वशमा राख्ने तिम्रो नाममा मलाई टाँसिन देऊ । म त्यो हुँ जसको  विनाश निश्चित छ, मलाई तिम्रो कहिल्यै नाश नहुने नाम जप्न देऊ । त्यो सर्वोच्च, सुविख्यात, तिम्रो नामद्वारा म तिमीसित विन्ती गर्दछु कि मलाई मेरो आफ्नै भरोसामा र मेरो कुत्सित र भ्रष्ट इच्छाहरूको भरोसामा नछोड । मेरा हातलाई तिम्रो शक्तिको हातले थाम र मलाई मेरा व्यर्थ कल्पनाहरू तथा भ्रमपूर्ण विचारहरूको खाडलबाट बाहिर निकाल र तिमीलाई अप्रिय लाग्ने सबै कुराहरूबाट मलाई चोख्याएर निर्मल गराइदेऊ । मलाई पूर्णतया तिमीतिर अग्रसर हुन, तिमीमा पूरा विश्वास गर्न, तिमीलाई आफ्नो शरणस्थलको रूपमा खोज्न र सधैं तिम्रो नजिकमा रहन योग्य बनाऊ । निःसन्देह, तिमी उही हौ जो आफ्नो शक्तिद्वारा जे चाहन्छौ त्यही गर्दछौ र आफ्नो इच्छा शक्तिद्वारा जे चिताउँदछौ त्यो पूरा हुने आदेश गर्दछौ । तिम्रो आज्ञाको कारबाहीलाई कसैले उल्लंघन गर्न सक्दैन र तिम्रो तोक आदेशलाई कसैले बदर गर्न सक्दैन । साँच्चै नै तिमी सर्व– शक्तिमान्, सर्व–गौरवशाली, सर्व–कृपालु छौ ।

-Bahá'u'lláh
-----------------------

संकट तथा परीक्षा (#11184)

के संकटहरूको निवारण गर्ने ईश्वरबाहके अन्य कोही छ ? भन, ईश्वरकै स्तुति होस् ! उनी नै परमात्मा हुन् ! सबै उनका सेवक हुन् तथा सबै उनकै आज्ञापालनमा अटल छन् ।

-The Báb
-----------------------

संकट तथा परीक्षा (#7013)

के संकटहरूको निवारण गर्ने ईश्वरबाहेक अन्य कोही छ ? भन, ईश्वरकै स्तुति होस् ! उनी नै परमात्मा हुन् ! सबै उनका सेवक हुन् तथा सबै उनकै आज्ञापालनमा अटल छन् |

-The Báb
-----------------------

संकट तथा परीक्षा (#11185)

हे मेरा प्रभु ! तिम्रो शक्तिद्वारा म तिमीसित याचना गर्दछु कि संकटको समयमा कुनै पनि क्षतिले मलाई हल्लाउन नसकोस् र असावधानीको समयमा तिम्रो प्रेरणाद्वारा मेरा पाइलाहरूलाई सही दिशातर्फ डोर्याऊ । तिमी ईश्वर हौ, जे  इच्छा गर्छौ त्यही गर्न तिमी सामथ्र्य राख्दछौ । कसैले पनि तिम्रो इच्छालाई रोक्न सक्दैन । कसैले पनि तिम्रो उद्देश्यमा खलल पुर्याउन सक्दैन ।

-The Báb
-----------------------

संकट तथा परीक्षा (#11186)

हे प्रभु ! सारा सन्तापलाई हटाउने र सारा पीडाहरू हरण गर्ने तिमी नै हौ । सारा शोकहरू निवारण गर्ने, प्रत्येक बद्धदासलाई छुटकारा दिलाउने र सबैका मुक्तिदाता तिमी नै हौ । 

हे प्रभु ! तिम्रो कृपाद्वारा मलाई उद्धार गरेर तिम्रा ती सेवकहरूको समूहमा समावेश गराऊ जसले मोक्ष प्राप्त गरेका छन् ।

-The Báb
-----------------------

संकट तथा परीक्षा (#11187)

हे मेरा प्रभु, मेरा परमप्रिय, मेरा अभिलाषा ! मेरो एक्लोपनमा साथ देऊ र मेरो निर्वासनमा मेरो सहयात्री बन । मेरो दुःख हरण गर । तिम्रो सौन्दर्यप्रति मलाई आशक्त गराऊ । तिमीबाहेक अन्य सबैबाट अलग गराऊ । 

तिम्रो पवित्रताको सुवासद्वारा मलाई आकर्षित गर । 

मलाई तिम्रो अधिराज्यमा तिनीहरूसँग सत्संग गराऊ जो तिमीबाहेक अन्य सबैबाट अलग्गिएका छन्, जो तिम्रो पवित्र संघारको सेवा गर्न चाहन्छन् र जो तिम्रो पवित्र धर्ममा काम गर्न उभिएका छन् । मलाई तिम्रो एक सेविका बन्न सक्षम गराऊ जसले  तिम्रो प्रसन्नता प्राप्त गरेकी छ । 

निःसंशय, तिमी दयालु तथा दानी छौ ।

-`Abdu'l-Bahá
-----------------------

